डब्लूएनओद्वारा राहत सामग्री वितरण

wno-relief

काठमाडौँ, वैशाख २५ गते । विश्वका नेवारहरूको छाता सङ्गठन वल्र्ड नेवार अर्गनाइजेशन र यसको नेपाल शाखाद्वारा शुक्रबार भूकम्पपीडितका लागि पहिलो चरणको राहत वितरण कार्य गरेको छ ।

उक्त संस्थाको एक टोली शुक्रबार उपत्यकाका भूकम्प प्रभावित क्षेत्र काठमाडौँ जिल्लाको पाँगा र साँखु तथा ललितपुर जिल्लाको लुभु र सिद्धिपुरमा पुगेर भूकम्प पीडितका लागि विभिन्न राहत सामग्री उपलब्ध गराएको थियो ।

उक्त संस्थाको नेपाल शाखाका सचिव शाक्य सुरेनले नेपालीमाथि परेको अनपेक्षित विपत्तिप्रति विश्वमा छरिएर रहेका नेवार समुदायको सहानुभूति रहेको जानकारी दिँदै उनीहरूबाट सहयोगस्वरूप उपलब्ध आर्थिक सहयोगबाट यो अभियान थालिएको बताउनुभयो ।

उक्त संस्थाको नेपाल शाखाका कोषाध्यक्ष पुष्कर माथेमाले करिब रु. एक लाख ५० हजारको राहत सामग्री वितरण गरिएको जानकारी दिनुभयो ।

संस्थाका सदस्य रश्मिला प्रजापतिका अनुसार भूकम्पपीडितको तात्कालिक आवश्यकतालाई दृष्टिगत गरी पाल, म्याट्रेस, स्यानिटरी प्याड, चामल, नुन, दाल, सरसफाइ सामग्री लगायतका सामग्री यस चरणमा वितरण गरिएको थियो ।

राहत सामग्री वितरण कार्यक्रममा महिला सशक्तीकरण नेपालका स्वयंसेवकहरूको पनि सहभागिता रहेको थियो ।

(from: gorkhapatra)