मधेस आन्दोलनप्रति वल्र्ड नेवाः अर्गनाईजेशनको ऐक्यवद्धता छ

डा. बाल गोपाल श्रेष्ठ अध्यक्ष, वल्र्ड नेवाः अर्गनाईजेशन

online-chautariवल्र्ड नेवाः अर्गनाईजेशनको गठन बारे केहि प्रकाश पार्नु हुन्छ कि ?
वल्र्ड नेवाः अर्गनाईजेशन विश्वमा छरिएर रहेका नेवारहरु बीच बिचार आदान प्रदान र एकताको पहल एवं नेवाः संस्कृति, नेपाल भाषा प्रवर्दन एवं विकासको निम्ति आपसी छलफल र सहकार्यको निम्ति गठन भएको नेवारहरुको अन्तरराष्ट्रिय संस्था हो । राज्यबाट उपेक्षित नेवार जाति र नेपाल भाषाको हक हित र अधिकार बारे आवाज उठाउने तथा विश्वभर छरिएर रहेका नेवारहरु सवैलाइ यसबारे सचेत र जागृत गर्ने एवं आफ्नो मातृभूमी नेपालमा नेवार जातिले आफ्ना अधिकारको लागि गरिरहेका आन्दोलनलाई सहयोग गर्ने पनि यसको उद्देश्य रहेको छ ।

तपाईको बिचारमा अहिले नेवारहरुको आफ्नो मातृभाषा नेपाल भाषा पछाडि पर्नुको कारण के हो जस्तो लाग्छ ?
करिव २५० बर्ष अगाडि नेपालमाथी पृथ्वीनारायण शाहले विजय प्राप्त गरे यता नेपाल भाषालाई क्रमशः ओझेलमा धकेल्ने काम भयो । यस भाषामा लेखिएका तमसुक कागजपत्र इत्यादीलाई दिइ आएको कानूनी मान्यता हटाउनुका साथै यस भाषालाई सरकारी कामकामा प्रतिबन्ध लगाउने काम गरियो । यस भाषामा कविता रच्ने ब्यक्तिहरुलाई समेत दण्डित गर्ने र जेल सजाय दिने काम भयो । बिशेषत राणा शाषणकालमा यस भाषाले चर्काे दमन झेल्नु पर्याे । सरकारी दमनको बाबजुड त्यहि बेला नेवार साहित्यकारहरुले साहित्य मार्फत आन्दोलन गर्न शुरु गरे । त्यसकै फलस्वरुप चित्तधर हृदय, सिद्धिचरण श्रेष्ठ जस्ता ब्यक्तित्वहरुलाई जेल हालियो । २००७ साल पछि केहि खुकुलो वातावरण त भयो तर सरकारको तहबाट यस भाषाको उत्थानको निम्ति कुनै काम भएन । फेरी २०१७ साल पछि निरङ्कुश पंचायती व्यबस्था आएपछि त रेडियोले प्रसारण गर्दैआएको नेपाल भाषाको १० मिनेटको समाचार समेत हटाईयो । पंचायत कालमा ठूलो आन्दोलन त नेवारहरुले गर्न सकेनन । तर नेपाल भाषाको समाचार हटाइए पछि बिरोध स्वरुप ०२२ सालमा नेपाल भाषाका साहित्यकारहरुले हरेक हप्ता नेपाल भाषा साहित्य सम्मेलन मार्फत प्रतिकात्मक आन्दोलन शुरु गरे । त्यो बेला संघियताको कुरा त आएको थिएन, तर भाषीक समान अधिकार हुनुपर्छ भन्ने आवाजहरु उठिसकेका थिए । ०२८ सालमा पुग्दाखेरी नेपाल भाषालाइ अझै दमन गर्ने हेतुले स्कुलमा पढाई भैरहेको नेपाल भाषाको एक बिषय पनि नयाँ शिक्षा लागु गरी ऐक्षिक बिषयमा पुर्याईयो । यसको अर्थ नेपाल सरकारले नेपाल भाषालाई समाप्त नै पार्न खोजेको हो भन्न सकिन्छ । २०२८ सालको नयाँ शिक्षा लागु भएपछि भाषा बिषयलाई अफ्शनल म्याथ र बिज्ञान जस्तो बिषयसंग ऐच्छिकमा पुर्यायो । यसबाटै थाहा हुन्छ कि सरकारले नेपाल भाषालाई कतिसम्म दमन गर्न खोजेको रहेछ । यसकोे बिरोध र आन्दोलन धेरै भयो तर पंचायत सरकारले कुनै सुनुवाई गरेन । २०३६ सालमा पद्मरत्न तुलाधरको नेतृत्वमानेपाल भाषाका विभिन्न संघ संस्थाका प्रतिनिधि सम्मिलित गरि नेपाल भाषा मंका खलः स्थापना गरेपछि संयुक्त रुपमा नेवारहरुले भाषीय जातीय अधिकार खोज्न शुरु गरे । यो संगै अन्य जातिका मानिसहरुले पनि बिस्तारै बिस्तारै आफ्ना अधिकारहरु खोज्न शुरु गरे । २०४६ सालको परिवर्तनले पनि नेपाल भाषाको उत्थान र विकाशको निम्ति सरकारबाट कुनै काम भएन । ०४६ सालपछि आजसम्म पनि भाषिक समान अधिकारका निमित नेवार लगायत संपूर्ण जाति जनजाति लागि परिरहन बाध्य पारियो । तर यसमा सरकारबाट कुनै सुनुवाइ भएन । स्कूलमा भाषा बिषयलाई ऐच्छिकमा नपारि नेवार वस्तिमा रहेका स्कूलहरुमा नेपाल भाषाको पढाइ नयाँ शिक्षा लागु हुनु भन्दा पहिले झै भाषाकै विषयमा राखेर पढाउन गरेको माग २०६३ यता गणतन्त्र आइसकेको अवस्थामा समेत यो माग पूरा हुन सकेन ।संघियतामा स्वायत नेवाः राज्य वा नेपाल मण्डल राज्यको स्थापनाको कुरा पनि माओवादी लगायत सवै नै राजनैतीक पार्टिहरुले पनि गरे तर नयां संविधानले स्वायत नेवाः राज्यको कुरा त परै रह्यो नेवार जाति र नेपाल भाषाको अस्तित्व समेत स्वीकार गरेन । यसकारण नेवारहरु निरन्तर आन्दोलनमा लागिपर्न बाध्य भएको आजको अवस्था छ ।

जनजाति र भाषाभाषिको आन्दोलन त बिदेशीको ईसारामा चलेको छ भन्छन् नी ?
बिदेशीको ईशारामा भाषिक आन्दोलन, जातीय र भाषीय समान अधिकारको आन्दोलन भएको भन्ने भनाइ मनगढन्त भनाइ हो । नेपालमा विध्यमान भाषीक एवं जातीय विभेदको विरोधको आन्दोलनको लामो इतिहास छ । भाषिक आन्दोलन, जातीय र भाषीय समान अधिकारको आन्दोलन २००७ साल अघिदेखि नै शुरु भएको तथ्य माथि मैले वताइसकेको छु । बिदेशीको ईशारामा जनजाति र भाषाभाषिको आन्दोलन भएको आरोप लाउनेले यो देशमा जनजाति र भाषाभाषिको समान अधिकारको आन्दोलनलाई कि त बुझ्न नसकेको भन्नुपर्छ कि त जनजाति र भाषिक समान अधिकारको आन्दोलनलाई वदनाम गर्ने कुत्सित मनसायले त्यस्ता अनर्गल कुरा गरी हिडेको भन्नुपर्ने छ ।

जनजाती आन्दोलनको शुरुवात कसरी भएको हो ?
२०३६ साल सम्म त जनजातीका अधिकारको निमित्त त्यति आन्दोलन हुने गरेका थिएनन् । जव ०३६ सालमा मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरज्यूको नेतृत्वमा सबैलाई समेटेर नेपाल भाषा मंका खलःको शुरुवात भयोे त्यसपछि भने नेवारहरुले संगठित रुपमा जातीय अधिकार र भाषिक अधिकारको निम्ती संघर्ष गर्न थाले । बिस्तारै अरु जातिहरुले पनि आआफ्ना जातीय संगठनहरु बनाउन थाले र जातीय भाषीय दमनको बिरोध गर्न थाले । सन १९८७ मा आईपुग्दा रामानन्दप्रसाद सिह थारु, सिताराम तामाङहरु जस्ता व्यक्तित्वहरुको नेतृत्वमा सर्वजातीय अधिकार मंच गठन गरेर जातीय भाषीय समान अधिकारको निमित आवाज बुलन्द गर्ने कामको थालनी भयो । २०४६ साल पछि सर्वजातीय अधिकार मंचको ठाउंमानेपाल जनजाति महासंघको शुरुवात भयो जसले अझ व्यापकरुपमा सशक्त ढंगले जनजातीय उत्थान र अधिकारको कुरालाइ उठाउने काम गरे ।

सरकारले त ०४६ साल पछि उपत्यकामा नेपाल भाषा र मिथिलामा मैथिली, भोजपुरी भाषा चलाईसकेको हैन र ?
केशव स्थापितज्यू मेयर हुनुभएको बेला काठमाडौं महानगरपालिकामा खस–नेपाली भाषाको अतिरिक्त नेपाल भाषालाइ पनि मान्यता दिएर चलाउन शुरुवात गरेको थियो । त्यस्तै पाटन, भक्तपुर, कीर्तीपुर नगरपालिकहरुमा पनि खस भाषाको अतिरिक्त नेपाल भाषालाइ पनि चलाउने कामको थालनी भैसकेको थियो भने धनुषा, रावविराजमा मैथिली,भोजपूरीभाषा चलाउने प्रयास भएकोे थियो । तर विदम्वना यसको पूर्ण कार्यन्वयन हुनु अगावै यज्ञनधि दाहाल जस्ता केहि खस अहंकारी साहित्यकारहरुले सर्वोच्च अदालतमा मुद्दा हालेर यस प्रयासलाई रोक्ने काम गरे । उहांहरुले आफ्नो भाषाले झै नेपालका सबै भाषाले समान अधिकार पाउनु पर्छ देश भित्रका सबै भाषालाई समान छन् भन्ने बुझ्न सकेनन् वा बुझ्न चाहेनन ।

माओवादीले उठाएको जातीय स्वायतताको आन्दोलनमा तपाईको धारणा के छ ?
माओवादीले उठाएको जातीय स्वायतताको आन्दोलनले पहिलेदेखि हुँदै आएका आन्दोलनहरुलाई केही साकार पार्ने हो कि भन्ने धेरैले आशा आम जनजातिले गरेका थिए । हुनत मधेसका नेपाल सदभावना पार्टिका नेता गजेन्द्र नारायण सिंह जस्ताले पंचायत कालमै संघियताको बारेमा कुरा उठाउन्दै आएका थिए । वहाँहरुले त्यो बेला ३ प्रदेश – हिमाल, पहाड र मधेसका कुरा उठाएका थिए । पछि माओवादीले सबै भाषा र जातिको समान अधिकार हुने गरि जातीय स्वायतताको ग्यारेन्टि हुने ९ देखि १४ वटा प्रदेशको खाका ल्याएको थियो । यसले गर्दा पनि जातीय आन्दोलनमा माओवादीको ठूलो भूमिका छ भन्न सकिन्छ । बिडम्वनाको कुरा नयां संविधान बनाउने क्रममा वहाँहरु आफैले उठाएका यी सबै कुरा लत्याएर एमालेको पुच्छर बन्न पुगेको देखियो ।

तपाईको आफ्नो व्यक्तिगत पृष्ठभूमी केहि बताइदिनु हुन्छ कि ?
बाल्यकालमा म भाग्योदय माध्यमिक विद्यालयमा ६ कक्षामा भर्ना भएर पढन थाल्दा नेपाल भाषाका महान साहित्यकार महाकवि गिरिजाप्रसाद जोशी मेरो स्कुलमा शिक्षककोरुपमा हुनुहुन्थ्यो । त्यो बेला वहाँले हाम्रो स्कुलमा साहित्यका अनेकन गतिविधि गर्ने गर्नुहुन्थ्यो । मैले पनि त्यहिबेला देखि कनिकुठि कविताहरुलेख्न थालें । साहित्य प्रतिको मेरो रुची क्रमश बढदै गयो । पछि ब्वसल भन्ने साहित्यिक पत्रिकामा रचना सम्पादको रुपमा काम गरे । यसरी साहित्य सेवा मार्फत मेरो भाषिक आन्दोलनको क्षेत्रमा विस्तारै प्रबेश भयो । विस्तारै राजनैतीक गतिबिधीमा पनि रुची बढदै गयो र बामपन्थि आन्दोलन प्रति झुकाव रहन गयो । भाषा साहित्य मुंज्या खलःको स्थापना गरी अनेकन साहित्यीक कार्यक्रमहरु गर्नुको साथै पत्रपत्रिकाहरु प्रकाशन गने काममा पनि लागें । हाम्रो साहित्यीक अभियानले यस क्षेत्रमा राजनीतिक चेतना जगाउने र पंचायत व्यवस्थाकोे बिरोधमा जनचेतना जगाउने काम पजि भयो । कथा, कविता र निबन्धहरु लेख्ने र बिभिन्न पत्रिकाहरुमा छपाउने काम पनि गरें । पछि नेपालभाषामा यी सबै विधामा मेरा पुस्तकहरु पनि प्रकाशित भएका छन् । अनुसंधान र अध्ध्यापन पेशामा लागे पछि भने साहित्यीक र अरु गतिविधिबाट टाढिंन्दै गए ।

बिदेशतिर जादा अध्ययनको अलवा के कस्ता काममा सरिक हुने गर्नुहुन्थ्यो ?
बिदेशमा रहेर अध्ययन अनुसंधान र अध्यापनको क्रममा पनि आफ्नो देशको चिन्ता र चिन्तनबाट मुक्त नहुने अनुभव मैले गरें । मैले तत्कालिन अवस्थामा नेपालमा भैरहेको राजनैतकि गतिविधि र माओवादी आन्दोलनका बारेमा पनि बिभिन्न लेखहरु लेख्ने गरे । साथै बिदेशमा नेपालीहरुलाइ एक ठाउमा ल्याउने हेतुले संगठनहरु खोल्ने काममा संलग्न भएं । १९९९ मा नेपाल समाज नेदरलन्दको स्थापना देखि २००५मा एनआरएन नेदरलन्दको स्थापनाको काम पनि गरें । डच र खस–नेपाली भाषामा निस्कने चौतारी भन्ने पत्रिकाको संपादकको रुपमा पनि केहि वर्ष काम गरें । निरन्तर रुपमा लेखन कार्य अहिलेसम्म पनि जारी नै गरेको छु । त्यस अलावा १९९४ मा नेदरलन्द गए देखि नै आफ्नो जन्म थलो साँखुमा बिभिन्न ऐतिहासिक र धार्मिक महत्वमा मठमन्दिरहरुको जिर्णाेद्धार र पूनर्निमार्णको लागि पनि नेदरलन्दका बिभिन्न संस्थाहरु र नेदरलन्द सरकारबाट आर्थिक स्रोत जुटाउने कामहरु पनि गरें । साँखुमा फ्रेण्डस् अफ साँखुले यी सबै काममा गहन भूमीका निर्वाह गरेको यहा उल्लेखनीय छ । पछिल्लो समयमा २०११ मा वल्र्ड नेवाः अर्गनाइजेशनको गठन भए देखि यसको पहिलो अध्यक्षको रुपमा काम गर्दै आएको छु । यसको पहिलो अधिबेशन बेलायतको लण्डनमा भएको थियो भने यसको दोश्रो सम्मेलन २०१६ मार्च २५, २६ र २७ मा अमेरिकाको वाशिंगटन डिसि एरियामा हुन गैरहेको छ । नेपालमा गत बैशाखमा गएको महाभूकम्पले पीडितहरुलाइ राहतको काममा पनि वल्र्ड नेवाः अर्गनाइजेशन सक्दो सहयोग पुर्याउने काम भ्एको थियो । पहिलो सम्मेलनले गरेका निर्णयहरु के कति कार्यन्वयन भए झै लाग्छ? त्यतिबेला नेपालमा संबिधान बन्ने र नबन्ने दोधारे स्थिति थियो । नेवारहरुको अधिकारको निम्ती स्वायत नेवाः राज्यको जुन अवधारणा आएको थियो त्यो बनोस् भन्ने हामीले चाहेका थियौं । नेपालभाषा लगायत नेपालका सबै भाषालाई राज्यबाट समान अधिकारको साथसाथै नेवार सांस्कृतिक र ऐतिहासिक संपदाहरुको संरक्षण र प्रवद्र्धनको सरकारबाट ठोस नीतिहरु तर्जुमा गरियोस भन्ने मागहरु पनि हामीले गरेका थियौं । यी चाहनाहरु खासै पूरा भएका छैनन् । यी नै मुद्दालाई घनिभूत रुपमा हामी दोश्रो सम्मेलनमा पनि उठाउने छौं ।

तपाईको यसपालीको नेपाल भ्रमणको उद्देश्य बारे केहि वताइदिनु हुन्छ कि ?
महाभूकम्प पश्चातको नेपालको वस्तुगत स्थिति र पीडितहरुको अवस्थालाइ नजीकबाट हेर्ने बुझ्ने तथा नयां संबिधान जारी पश्चात नेपालमा भैरहेको गतिबिधिहरुलाइ नजिकबाट नियाल्ने मेरो उद्देश्य रहेको छ । विषेशत नयां संबिधानले नेवार तथा नेपालका मूलवासी आदिवासी जनजाति, थारु मधेशका जनतालाइ गरेको उपेक्षाको कारणले श्रृजित आजको विकराल स्थितिलाई नजिकबाट नियाल्ने मौका मैले यो भ्रमणमा पाएं । मूलवासी, आदिवासी जनजाति, थारु र मधेशका जनताका अधिकारका विषयमा भएका विभिन्न छलफलमा भाग लिने मौका पनि मैले पाएं । वल्र्ड नेवाः अर्गनाईजेशनको अध्यक्षको नाताले अनेकन कार्यक्रमहरुमा सहभागी हुने मौका पनि पाएं । यसै बीच मेरो एक पुस्तक The Newars of Sikkim: Reinventing Language, Culture, and Identity in the Diaspora को बारे नेपाल भाषा एकेडेमीले शताब्दिपुरुष संस्कृतिविद सत्यमोहन जोशीज्यूको प्रमूख आतिथ्यमा एक अन्तरकृया कार्यक्रमको पनि आयोजना भयोे । यसै बीच मेरो एक अर्काे नयां पुस्तक ख्वप जुजुपिनि वंशाबली को प्रकाशन तथा विमोचनको कार्य पनि सम्पन्न भयो ।

अहिले भैरहेको मधेस आन्दोलनप्रति यहाको धारण के छ ?
अहिले भैरहेको मधेस आन्दोलनको समर्थनमा र आफ्नै अधिकारको निम्ति नेवार लगायत जनजातिहरु त्यति सशक्तरुपमा लागेको देखिएको छैन । यस्तो हुनुभएन भन्ने मेरो भनाइ छ । मधेसीहरु प्रति नेपाल राज्यले अपनाइरहेको रवैया अत्यन्त निन्दनीय छ । मधेसीहरु पनि हाम्रै नेपाली दाजुभाइ हुन् भन्ने धारणाको अभाव अहिलेका सत्ताधारी र पहाडका कथित राष्ट्रवादीहरुमा रहेको महशुस मैले गरिरहेको छु । यो ज्यादै दुःखलाग्दो छ । महाकालीनदी भारतलाई सुम्पेर नेपाललाई प्रत्येक बर्ष अरबौं रुपैया आम्दानी हुने जस्ता हावादारी कुरा गर्नेहरु अहिले सत्तामा छन् । उनीहरुले नै अहिले राष्ट्रवादको चर्का नाराहरु दिएर नेपाली जनतालाई रनभूल्लमा पारेका छन् । यो विलकुल गलत हो । मधेसीहरु नेपालकै नागरिक हुन् र उनीहरुले उठाएका समान अधिकारको माग जायज छन् भन्ने तथ्यलाइ बंग्याएर, अनेक अहफाह फैलाएर जनमानसमा भ्रम फैलाउने काम यहाका मूल प्रवाहका संचार माध्यमले गरिरहेको देखियो । मधेश आन्दोलन शुरु भएको शय दिन वितिसकेकोे छ भने ५० सौं मानीसकोे ज्यान अनाहकमा गैसकेको छ । मधेशी र जनजातिले उठाएका मागहरु पूरा गर्नुको सट्टा भारतलाइ दोष दिएर भारतीय प्रधानमन्त्री मोदी बिरोधमा नाराहरु घन्काएर नेपाली जनतालाइ बेवकुफ बनाउने काम यहां भइरहेको छ । भारतका प्रधानमन्त्री मोदीलाई होइन नेपालका जनताले यहाकै सरकारको अकर्मन्यतालाइ दोष दिनु मात्र बुद्धिमानी हुनेछ । नेपालमा हालको यो स्थिति निम्त्याउने काम हतारमा विभेदकारी संविधान जारी गरेर यही देशका तीन प्रमूख दल – नेकपा एमाले, एकिकृत माओवादी र नेपाली कांग्रेसले नै गरेका हुन । आफैले श्रृजना गरेको देश भित्रको यो विकराल स्थितिको आफैले समाधान नखोजी भारतलाइ दोष दिएर, खोक्रो राष्ट्रबादको नारा लगाएर, भारतीय नाकाबन्दीको हौवा खडा गरेर, नेपाली जनतालाइ ग्यास, पेट्रोल, तेल लगायत दैनीक उपभोग्य सामग्रीको अभावमा दुवाएर अनावश्यक दुःख दिने काम जुन भैरहेको छ यो अत्यन्त गैरजिम्मेदारी एवं आपराधिक काम हो । मधेसीहरुले प्रस्तुत गरेका ११ बुंदे माग नेपालका सम्पूर्ण आदीवासी जनजाती लगायतकाको पनि माग हो भन्ने बुझेर ती सबै माग पूरा गराउन यो सरकारलाई दवाव दिन आदीवासी जनजाती लगायत सम्पूर्ण नेपाली लाग्नुपर्छ भन्ने मेरो सबैमा अपिल छ । –

Source:
http://www.onlinechautari.com/2015/11/58955#sthash.pft8Njmz.dpuf